जेठ २७, बागलुङ
कोभिड १९को संक्रमणको समयमा पनि नियमित रुपमा सेवा प्रदान गर्दै आएका उद्यमी व्यवसायीहरुलाई कोभिड विरुद्धको खोप सेवा उपलब्ध गराईदिनको लागि बागलुङ उद्योग वाणिज्य संघ, चेम्बर अफ कर्मश बागलुङ, राष्ट्रिय उपभोक्ता मञ्चले प्रमुख जिल्ला अधिकारी मार्फत माग गरेका छन् ।
तिनवटा संस्थाले संयुक्त रुपमा निवेदन दिदै उनीहरुले अग्रपक्तीमा रहेका जिल्ला भर काम गरेका उद्यमी व्यवसायी र सम्बन्धीत कर्मचारीहरुलाई खोप व्यवस्थापन गरिदिन माग गरेको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले जानकारी गराएका छन् ।
दैनिक रुपमा जनतासँग प्रत्यक्ष सम्र्पकमा रहने तरकारी, फलफुल, खाद्यान्न, ग्याँस तथा पेट्रोलियम पदार्थ विक्रेता, मेडिकल, पानी तथा दुध विक्रेता जस्ता अति आवश्यक सामाग्री तथा सेवा उपलब्ध गराउने व्यवसायी र सम्बन्धीत कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउनु पर्ने र लकडाउन खुले पश्चात थप जोखिम हुने भएकाले सबै व्यवसायीलाई प्राथमिकताका आधारमा खोप व्यवस्थापन गर्नु पर्ने संघका अध्यक्ष राजभण्डारीले बताए ।
उद्यमी व्यवसायी र त्यहाँ काम गर्ने व्यक्ती संक्रमित हुँदा आम उपभोक्तामा संक्रमण छिटो फैलने खतरा देखिएको र आम उपभोक्तालाई सरकारले खोपको व्यवस्था गर्न नसकिएको अवस्थामा रहेकाले उपभोक्ताहरु व्यवसायीसँग प्रत्यक्ष रुपमा सम्र्पक हुने हुँदा व्यवसायीलाई खोप दिदा उपभोक्ताहरु कम जोखिम हुने राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए ।
उद्यमी व्यवसायहरुले संकटमा पनि आफ्नो नियमित सेवा दिईरहेको र उनीहरु उच्च जोखिममा पर्ने देखिएकाले खोपको व्यवस्था गर्न माग गरिएको चेम्बर अफ कर्मश बागलुङका सचिव तेजबहादुर कुँवरले बताए ।
बागलुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजकुमार शाक्य, च्याम्बरका सचिव तेजबहादुर कुँवर, मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीलाई लिखित रुपमा पत्र बुझाएका हुन् ।